दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडाैं | चैत ७, २०८१
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सिराहाको औरहीमा दलितमाथि गरिएको विभेद छानबिन गर्न संसदीय समिति माग गर्नुभएको छ ।
बैठकमा समय लिएर सांसद जीवन परियारले औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने व्यवस्था संयुक्त राष्ट्रसङ्घले गरेको उल्लेख गर्दै उहाँले बुधबार सिराहाको औरहीमा जातीय विभेदको घटना भएकामा आपत्ति जनाउनुभयो ।
पुनःस्थापित प्रतिनिधिसभाबाट जातीय भेद्भाव उन्मूलन घोषणा गरेको पनि १८ वर्ष पुगेको अवस्थामा यस्तो घटना हुनु दुःखद् रहेको उल्लेख गर्दै सांसद परियारले उक्त घटनाका दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद मनिष झाले सिराहाको औरहीमा भएको घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद अब्दुल खानले औरहीका दीपक मलिक डोमको घर भत्काउने औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ्ग बाबाले डोम परिवारको घर भत्काएर दलित समुदायको घरका सामग्री ओसारपसार गरेकाले कानुनी कारबाही गर्न माग गर्नुभयो ।
सांसद अमरेशकुमार सिंहले दलित र महिलामाथि शृङ्खलाबद्ध रूपमा अत्याचार हुँदा पनि केन्द्रीय र प्रदेश सरकारले किन केही गरिरहेको छैन रु भनी प्रश्न गर्नुभयो । कति दलितमाथि भएका घटना सञ्चारमाध्यममा पनि नआएका उहाँले सुनाउनुभयो ।
“सिराहको औरहीमा घर भत्काउनुका साथै माटो पनि निकालिएको छ । यो विषयमा निष्पक्ष छानबिन गरी छुवाछुत गर्ने तीनै जनालाई कानुनी कारबाही गरियोस्”, उहाँले भन्नुभयो ।
सांसद सम्झना थपलियाले मुलुकलाई छुवाछुतमुक्त घोषणा गरिए पनि सिराहाको औरही गाउँपालिकाको आदेशमा दलित समुदायको घर भत्काउने विषयले संसद् मर्माहत भएको बताउनुभयो ।
उहाँले गृहमन्त्रीले यस विषयमा संसद्लाई जवाफ दिनुपर्ने माग गर्नुभयो । संसद् यो घटनाप्रति मूकदर्शक बन्न नहुने भन्दै उहाँले शक्तिशाली संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभयो ।
सांसद रणेन्द्र बरालीले दलितमाथि गरिएको बर्बरताले सगरमाथाको टाकुरालाई नाघेको भन्दै औरही–५ का दीपक मलिकको घर भत्काउनु निन्दनीय काम भएको बताउनुभयो । मलिकको घर पाँच वर्षअघि प्रधानमन्त्री राहत कोषको बजेटबाट बनाइएको उहाँले जानकारी दिनुभयो ।
सांसद बरालीले विष्णु महायज्ञका आयोजक बाबा र गाउँपालिकका अध्यक्ष यादवद्वारा गरिएको उक्त घटनापछि त्यहाँका स्थानीय दलित समुदाय बोल्न पनि नसकेका बताउनुभयो । उहाँले गाउँपालिका अध्यक्ष यादवलाई निलम्बन गरी सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
सांसद अशोककुमार चौधरीले संवैधानिक व्यवस्था सामाजिक न्यायमाथि सिराहा औरहीको घटनाले प्रहार गरेको बताउनुभयो । यो घटनाले छुवाछुत अन्त्य भएको छ त ? भन्ने प्रश्न उब्जिएको उहाँको भनाइ छ ।
राज्यका संयन्त्र दलितमाथि प्रयोग गरिएको यो घटनाले पुष्टि गरेको उहाँले बताउनुभयो । सांसद चौधरीले यो घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गनुभयो ।
सांसद प्रभु हजाराले २१औँ शताब्दीमा छुवाछुतका घटना जघन्य अपराध भएको बताउनुभयो । मानवलाई छुवाछुतका नाममा घर भत्काउने बाबा, जनमत पार्टीका पालिका अध्यक्ष यादव र गाउँपालिकाका अध्यक्ष यादवलाई कानुनी कारबाही गर्न उहाँले माग गर्नुभयो ।
काठमाडौं: नेपाली कांग्रेसको १५ औं महाधिवेशन आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म काठमाडौँमा हुने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यसअघि ...
गण्डकी: कास्कीको मादी गाउँपालिका–१ स्थित पर्यटकीय गाउँ सिक्लेसमा सूचना केन्द्र सञ्चालनमा आएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोग एवम् वडा कार्यालय र स्थानीय पर्यटन व्यवसायीको समन्वयमा के...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ । आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

